कविता_ तेस्रो आँखा

तेस्रो आँखा।
_________
निरज थापा

औ दिलमाया!
खोल त्यो निश्छल आँखा
त्यो भित्रको बादललाई फाट्न देऊ
बर्सिन देऊ
शान्त हुनदेऊ ज्वार भाटालाई
कति राख्छौ थुनेर आफैलाई
यो घरभित्र, समाजभित्र?
छोरीका रूपमा
दिदीका रूपमा
बहिनीका रूपमा
प्रेमिकाका रूपमा
स्वास्नीका रूपमा
बुहारीका रूपमा
काकीका रूपमा
छेमाका रूपमा
फूपूका रूपमा
वा अरू विभिन्न रूपमा।

तिमीभित्र पनि त तिमी छ
तिमीभित्र पनि त छ
एकजना लेखक
सबैका मनका कुरा लेख्न सक्छौ,
एकजना गायक
जिन्दगीको मिठोपन गाउन सक्छौ,
एकजना अभिनेता
समाजका असल चरित्र प्रस्तुत गर्नसक्छौ,
एकजना चित्रकार
जिन्दगीलाई रङमा उतार्नसक्छौ,
एकजना एक्टिभिष्ट
सत्यका पक्षमा उभिनसक्छौ।

तिमी बिहानीको आलर्म
तिमी बिहानीको चिया
खाजा,
तिमी बिहानीको भजन, कीर्तन
दिनको खाना
तिमी केही नभनी मसित सुत्ने साथी।

तिमी त्यतिमात्र होइनौ।

तिमीले बाथरूम पसेर सेकेको आँखा
तिमीले टेरेस चढेर फ्याकेको सपना
तिमीले नानीलाई हेरेर थुनेको तिम्रो मन
के म त्यति पनि पढ्न नसक्ने अनपढ हुँ र?

औ दिलमाया!
तिमीले तिमीलाई तिमी हुनदेऊ।

मान्छेका कामै हुन्
अर्काको आङमा जुम्रा खोज्छन्
र आफ्ना तमाम असल समय बगाइपठाउँछन्
कहाँ हो कहाँ
न त्यसलाई कुनै दिन खोजेर पाउनु
न त्यो बढेर अझ धेर भएर फर्केर आउनेछ
जिन्दगीमा।

समय फर्केर आउँदैन दिलमाया।

आजै खोल तिमीले तिम्रो तेस्रो आँखा
तोड शिवको मिथलाई।
कसले भन्यो तिमीसित तेस्रो आँखा छैन भनेर?

शिवलिङ्गमा पानी वा दूध त जसले पनि चढाउनेछ।
तिमी तिमी बन।
________
२५ जून २०२०
सिलगडी। दार्जिलिङ। भारत।

Comments

माटो

माटो (कविता)