कथाकार सञ्जय विष्टको जुनजस्तै घाम पाठकीय
निरज थापा, लङ्कु
सिलगढी
“ उनी ( सञ्जय विष्ट ) उच्चाधुनिक कालका
एक प्रतिनिधि कथाकार हुन् ” – डा सञ्जय बान्तवा ।
(- जुनजस्तै घाम -बाट)
‘ अघिल्लो साँझदेखि नै बिरामीले एकटक लाएर
सिलिङतिर हेरेको हेरेकै थियो । आँखामा आँसुले ताल बनाएको थियो। ताल भरिएर
कनपट्टीदेखि कानतिर गुडेको अघिल्लो आँसुको तरल डल्लाले आउने आँसुका डल्लाहरूलाई
बाटो बनाइदिएको थियो र त्यही बाटो पहिल्याएर निस्किरहेका आँसुहरू पुछिदिनलाई मूल
घर स्याहारेर बसेकी जेठी बुहारी सासूछेव बसेकी थिई हातमा एउटा न्यानो रूमाल लिएर ।
अगिल्लो साँझदेखि नै श्वास- प्रश्वासमा घ्यार-घ्यार,घ्यार-घ्यार त्रासद ध्वनि थियो ।
" आमा त मान्छे होला जस्तो छैन माइला, आइहाल्नू" जेठा दाजु महेश्वरले माइलालाई आमाको अवस्थाबारे बताइसकेको थियो
। ’
-
चुरोका बान्गीहरू - सञ्जय विष्ट
कथाकार सञ्जय विष्टलाई उनको यो भाषिक बुनोटले नै परिचय
दिनेछन् र पाठकलाई पढ्नमा चाख पनि दिनेछन् ।
उनको शव्दान्त र अस्ताचलतिर दुइटा
काथासङ्ग्रह १९९३ र २००७ मा प्रकाशित छ । उनी हतार
गरेर कथा लेख्ने कथाकार होइनन् ; उनका कथाहरू
पढेपछि पाठक त्यो निष्कर्षमा पुग्नेछन् । कथाका निम्ति चाहिने अवयवहरू पहिले
इबराले मन्थन गरेका पाउथ्यौँ भने अहिले त्यो कथाकार विष्टमा पाएका छौं। पहिले ‘ पुल ’ , ‘ नक्साको पुरूष ’ , ‘ थुक्क ! त्यसले
पनि घर बनाइहाल्नु परोस् ’ पढेर दङ्ग परेका
थियौँ । स्थानिक विषयलाई पनि नजानिदो तरीकाले उठान गर्नु उनको वैशिष्ट्य नै हो । ‘ राजयोग नपरेका
युवराजहरू ’, ‘ दुर्गाको दिल ’ साह्रै सजिलो
ढङ्गमा गहन कुराको उठान भएका कथाहरू छन् अहिलेलाई । भाषिक बुनोट उनको यस्तो छ कि
घटनाहरूको तस्बीर पाठकको आँखामा नाचिरहनेछन् । नाच्दै गएपछि नै कथाको स्वाद
बिस्तारै बढ्दै जानेछ । उनी भाषालाई बढी सचेततापूर्वक प्रयोग गर्छन् । ‘ कथनलाई कसरी प्रस्तुत
गर्नुपर्ने ? ’ भन्ने कुरा, उनीसितै सचेत भएर बढ्छन् । असाधारण कथावस्तु र भाषाप्रयोगको
शालीनता हामी उनका कथाहरूमा पाउँदछौँ ।
कथाकार बिष्टका कथाहरूको शीर्षकमा समानता के पाइन्छ भने –
त्यो नैराश्यतिर ढलेको हुन्छ । ‘ शव्दान्त’ शव्दको अन्त, ‘अस्ताचलतिर’ अस्ताउँदै गरेको वोध,
‘ जुनजस्तै घाम’ - घाम पनि जुनजस्तो
हुनु, मधुरो, शीतल अथवा भनौ घामको पनि उत्ताप नहुनु । त्यै NEGATIVITY माथिको POSITIVITY नै कथाकारको उद्देश्य हो र पाइने
वास्तविकता पनि । मलाई लाग्छ उनी साहित्यलाई ' सहितस्य भाव साहित्य ', सत्यम् शिवम् सुन्दरम्
- को पक्षमा राख्ने कथाकार हुन्
। एरिष्टोटलले पनि यसै सन्दर्भमा 'क्याथार्सिस ' र ‘ विरेचन ’ - को चर्चा गरेका
थिए । साहित्यले गौण रूपमा होस वा परोक्ष रूपमा समाजलाई बाटो देखाउने काम गरेकै
हुन्छ। भनौ गुण - दोष देखाउने
कार्य गर्छ नै । घटना मात्र होस् कथा तथापि घटना बोल्छ नै उठेर नराम्रोको विरूद्ध
। तर यी सबै विशौं शताब्दीका तथ्यहरू
भए साहित्यका । अबको लेखनले साहित्यलाई नै ताक्छ, जुन कालिक र जीवन्त हुन्छ ।
कथाले तर नैराश्यमा पनि सकारात्मकता चाहिँ सशक्त
रूपमा बहन गरेको हुँदछ । यहीँ कथाकार विष्टको कथाले कथाको वैशिष्टय प्रमाणित गर्दछ
।
‘ एउटा निश्चित कालखण्डमा प्रचलित 'लोकप्रिय ' साहित्यलाई भन्नेहरूले उपभोक्तावादी भनेका
हुन् भने त्यस्ता साहित्यले समयको त्यस निश्चित कालखण्डमा तुलनात्मक द़ष्टिकोणँमा
धेर पाठक पाउनुको कारण ती साहित्यमा अन्तर्निहित उपभोक्तावादी तत्त्व हो कि त्यस
कालावधिमा मनोरञ्जनका भौतिक साधनहरूको अभाव ? होइन भने कतिजनाले , कस कसले खोजेर पढ्दैछन् सुवासहरूलाई आज ?.. ’
..........भनेर कथाकार विष्टले
वर्तमान कथाबारे अडान स्पष्ट पारेका छन् । तथापि म यी कुराहरू गरेर जीवनवादी
समालेचना र समालेचक बन्न चाहन्न न कि INTENTIONAL FALLACY को सिकार । कथाकार विष्ट
उसै त स्थानिक कुराहरूमाथि जोड दिने कथाकार हुन् । मिश्रित संस्कार , वर्तमान
यथास्थितिमाथि राम्ररी निर्कौल गरी लेख्ने कथाकार हुन् ।
उनको ‘ कथाकारको आँखा ’ सङ्ग्रहको सुरूमा राखिएको कथा हो , जस्तो कि निबन्धकार
लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निबन्ध सङ्ग्रहको श्रीगणेशाय
नम: । कथाकारको विचार,
कथाको भावभूमि कथाकारले ‘ कथाकारको आँखा ’ कथामा नै
राखेका छन् यसरी र एक ठाउँ कथाकार विष्ट यसो पनि भन्छन् –
‘ अस्ति पनि
डा. दिवाकर प्रधानले “ कथा लेख् , कथा ।
कथा मात्र लेख् । ” भनेर फोन गर्नु भएको थियो ।
साहित्य
उपभोक्तावादी हुनुपर्छ भन्ने कुरोमा सँधै उहाँको जोड रहन्छ । सर्जकले पाठकको रूचि
अरूचिलाई ध्यानमा राखेर साहित्य सिर्जे त्यसले पाठक नपाउने कुरै छैन भन्ने उहाँको
ठनाई छ । तर आफ्नो चाहिँ हृदय र मस्तिष्कको चारैतिर नारायण वाग्लेको “ दर्शकले रूचाउने जस्तो चित्र बनाउनु थाल्ने हो भने म
सच्चा चित्रकार हुन सक्दिनँ । म त्यति बेला रचनाकार होइन उत्पादक हुन पुग्छु,” भन्ने भनाइले शक्तिशाली
साम्राज्य फैलाएको छ । ’
यी
भनाइहरूबाट नै कथाकारको उद्देश्य मोटामोटी अडकल लगाउन सकिन्छ तथापि मोहर लगाउन भने
सकिँदैन । किनभने उद्देश्य भन्ने कुरा विभिन्न मोटिफमा संकेतको रूपमा कथामा
सर्वोपरि विद्यमान छ । उनले बितेका सात- आठ वर्षमा मात्र १० वटा कथा त्यसै लेखेका होइनन् ,
उनले चाहेरै एति लेखेका हुन् । कथा भन्नु, कथा लेख्नु अनि कथालाई पाठकसम्म
पुऱ्याउनु मात्र लेखकको दायित्त्व होइन भन्ने ठान्छन् उनी । उनका कथाहरूको भाव
पक्ष , शैली पक्षको त्यसै बखान गर्दा मूल्याङ्कन हुनसक्तैन- किटान गरेर भन्छु म।
हतार र नामको व्यवसायमा छैनन् उनी । हुलहरू र देखिएका विभिन्नतावादीहरूदेखि
अक्षुण्ण छन् उनी र उनका कथाहरू । यहाँ यति चाहिँ भन्न के मिल्छ भने उनका कथाहरूले
पनि समसामायिक विषयको उठान चाहिँ गहन रूपमा उठाएका छन् । तर कथाको उद्देश्य भनेको
विषय उठानको मुद्दा मात्र पनि होइन । कला कलाको लागि वा कला
जीवनको लागि वा जीवनवादी साहित्य, यथार्थवाद
सबै त पाठकले पढिरहेका भोगिरहेका कुराहरू हुन् ।। ‘ त्यसो भए साहित्य के त ? ’ भन्ने प्रश्नको उत्तरमा
उभिएका छन् कथाकार विष्टका कथाहरू ।
औपनिवेशिकता
वा उपनिवेशवाद, उपभोक्तावादी समाज, पाश्विक वैश्विकता, अराजनैतिकता, ओरिन्टलिष्ट ,
ओरिन्टलिज्म, मार्जिनलाइजेसन, व्यक्तिगत, राजनैत्क, सामाजिक, जातिगोष्ठीगत हेजीमोनी
जस्ता कुराहरू पाठकले पढिरहेका छन् , भोगिरहेका छन् । यी सबै थोक पाठकले भेट्ने नै
छन् ।
तसर्थ
त्यसदेखि इतर कथाकार विष्टका कथाहरूलाई विभिन्न दृष्टिकोणबाट अध्ययन गर्न सकिने
सम्भावना रहेको छ - भाषाविज्ञानका विभिन्न शाखा सामाज भाषाविज्ञान, सङ्केतविज्ञानहरूबाट
मात्रै पनि यी कथाहरूको अलग्गै अध्ययन गर्न सकिनेछ भने कथावस्तुको दृष्टिले भिन्नै
। तसर्थ भूमिकामा कवि / समालोचक सुधीर छेत्री लेख्छन्- ‘ सञ्जय विष्टका कथाहरूको
साहित्यिक उत्तराधुनिकतावादी प्रवृत्तिका कोणबाट अध्ययन गरिनु अनिवार्य हो ।
कथाकारिताको
चर्चामा यहाँ यसरी लेखकको चर्चा गर्नु गर्नु उचित होइन माथि नै Intentional
fallacy को कुरा गरिएको छ । तथापि उनका कथाहरू पढ्दा जोन
क्रो ऱ्यान्सम, इलियडका सैद्धान्तिक लेखहरू पाठकका मनमा आउँछन् । Tradition and
Individual Talent का वैचारिकता आफसे आफ आउनेछन् , जसरी आउनेछन् चेखोब,
टल्सटोय , ओ हेनरी र भर्जिनिया उल्फहरू ।
प्रस्तुत
कथासङ्ग्रहमा जम्मा दशवटा कथाहरू परेका छन् – ‘ कथाकारका आँखा ’, ‘ दागका चोटहरू’’, ‘ लोग्नेमान्छे ’, ‘ दुर्गाको दिल ‘, ‘ राजयोग नपरेका यवराजहरू ’, ‘ इन्डियाज् गट् ट्यालेन्ट ’, ‘ चुरोका बान्गीहरू ’, ‘ नाजनिनहरूको पर्यटन ’, ‘दाङको अन्तराष्ट्रिय व्यापारी ’ , ‘ जुनजस्तै घाम ’। यी सम्पूर्ण कथाको विषय
भिन्न भिन्न छन् र उठाएका मुद्दाहरू पनि । ‘ कथाकारको आँखा ’ स्ट्रिम अफ कन्सियसनेस टेकनिकमा
लेखिएको राम्रो कथा हो । मान्छेको संवेदनशील मनलाई दोस्रो पुरूष वा अन्य पुरूष अथवा
दोस्रो, तोस्रो सर्वनामहरूको अङ्गविधान, भावभङ्गीले नजानिकनै प्रभावित पार्दछ र
लेख्नुरको निम्ति इन्सिष्ट गर्दछ । अनि कथाकार लेख्छन् – ‘गति छाडाहरू । ’
अनिरहन्छन्
पनि सबैलाई – ‘ म लेख्छु,
लेख्छु ’ ।
प्रस्तुत कथालाई
जीवित चरित्र उमेस उपमा, सुरज रोसुरि, डा. दिवाकर प्रधान, डा. राजेन्द्र
भन्डारी आदिको प्रयोगले जीवन्त बानएका छन् । केही वर्षअघि कथाकार प्रकाश
हाङखिमका कथा ‘सुनपसिना ’ – मा यसरी जीवित पात्रहरू पाएका
थियौँ । त्यसभन्दा अघि आख्यानकार धरावासी - को ‘आधा बाटो ’– मा पाएका थियौँ ।
पुराय
स्त्री लम्पट बनी आफ्नो जीवनलाई नै जोखिममा धकेल्न पुगेको आर. के. को कथा जुनजस्तै
घाम एकदमै विशिष्ट छ । यस्ता घटना
हामीले पहिले मेट्रोतिर देखेका थियौँ , सुनेका थियौँ, पढेका थियौँ , फिल्मतिर
हेरेका थियौँ। यो विस्तारै वैश्वीकरण भएर ससाना शहर – बजार, गाउँतिर पनि पुगेको
पाइन्छ । यही घटना हामी छर्लङ्ग देख्नेछौँ जुनजस्तै घाममा । परिवारिक , राजनैतिक,
भौतिक , शारीरिक लालसामा कथा झ्याँगिएका छन् । ‘ चुरोका बान्गीहरू ’ भौतिक लालसाले परिपूर्ण मानविक वृत्तिमाथि उठेको कथा हो ।
उत्तराधुनिक
कालमा देखिएका घटनाहरू कथाले राम्ररी बहन गरेको छ । ‘ दुर्गाको दिल ’ यसको राम्रो उदाहरण हो ।
चरित्र रूपान्तरण र भिन्न जातगोष्ठीमाझ सम्न्ध स्थापन र संस्कार पनि बिस्तार
मिश्रित भएर भिन्न बनिँदै गरेको राम्रो विवरण छ । जात गोष्ठीहरू कसरी बिभाजित र विनिर्माण
हुँदै जाँदैछन् हाम्रो क्षेत्रमा ? – यसको उदाहरण हो यो कथा ।
दार्जिलिङको
राजनैतिक चल खेलमा परेर युवाहरू कसरी पलायन हुँदै जाँदैछन् भन्ने विषयमा लेखिएको
कथा हो – ‘ राजयोग
नपरेका युवराजहरू ’ । पहिले उनकै ‘ पुल ’ कथामा यो विषय पाएका थियौँ ।
त्यसरी नै इबराको ‘आज रमिता छ ’ मा दार्जिलिङका सामाजिक,
राजनैतिक इतिहास पाएका थियौँ ।
कथाकार
विष्टको कथालेखनको सबैभन्दा सबल पक्ष हो भाषा । नबुझ्ने भाषा उनी पटक्क लेख्दैनन्
। न कि पात्रहरूलाई अविकशित र असुहाउँदिलो भाषा बोल्न लगाउँछन् । कथाको कथनले नै
पाठकलाई पढ्नमा आफै प्रेरित गर्ने छन् । त्यो पाठकहरूले भेट्ने नै छन् । कथा
टेस्ट्चर र स्ट्रक्चर दुवै सुगम , सुगठित र सबल भएकोले उनको Narrative
Techniques बेजोड बन्न पुगेको छ ।
दृश्यविभाजन र घटना विभाजन नगरिएको भएता पनि राम्रो इतिवृतात्मक पद्धतिको प्रयोगले
कथाहरू स्वाभाविक र इम्प्रेसिभ बनेका छन् ।
भाषा
प्रयोगले नै मस्तिष्कमा विम्ब तयार गरिदिन्छन् र पाठकले आफैले घटनालाई ‘थ्री डी ’ को स्वादमा आफ्नै अघि घटिरहेको पाउनेछन् । केही उदाहरण हेरौँ
–
‘ गणेशले आफ्नो शरीरका रौंहरू ठाडा भएका ; जिब्रोमा, आँखामा र शरीरभरि
नै अचानक तरलता फैलिएको अनुभव गऱ्यो ।
सिनेमा
सकिएर बाहिर निस्कँदा झमक्कै साँझ परिसकेको रहेछ । हलबाट बाहिर निस्केपछि त्यसलाई
अचानक एकदम कडा जाडो लाग्यो ।आधाउधी कान छोप्नेगरी त्यसले मपलर मिलायो । ज्याकेटको
गोजीबाट पन्जा झिकेर लगायो र सागरलाई भन्यो –
“ माथिबाट जाऊँ हैन ?” ( राजयोग नपरेका युवराजहरू ) ’
‘ गोलाइ गोलाइमा अलिकति छलिएर बसेका भेटिन्छन् एकाअर्कालाई
अँगालो हालेर भर्खरका केटाकेटीहरू । के भनेर निस्कन्छन् होला यिनीहरू आमा-
बाबुहरूलाई ? के सोचेर निस्कन
दिन्छ होलान् आमा-बाबुहरू यिनीहरूलाई । उषाकालमै देखिँदो रहेछ समाजको एउटा
वास्तविकता । ’ ( जुनजस्तै घाम )
‘ त्यसदिन आठ बजिसक्दा पनि पेपर आइपुगेन । ल्याउने केटी किन
अझ आइपुगिन लागेर आउने फाटकतिर हेर्न बरन्डामा निस्किएको आँखा पहिला त्यतै
परिहाल्यो – नुहाएर केशलाई झडनले बेह्रेर , धुएर चिसा अन्डरवेयरहरू सुकाउँदै रहिछ
तारमा ।
पानीको
हाहाकार छ यस्तो । दिनैपछि केको स्वाङ !- रिसाएर म भित्र पसेँ ।
ए,
मत पेपर ल्याउने केटी हेर्न पो बरन्डामा निस्किएको थिएँ । क्षणभर
भुलेको सम्झेर निस्केँ बरन्डामा फेरि । पहिला त त्यतै हेरेछु त्यसपल्ट पनि ।अघि
बाँधेको झाडन पुकालेर केश पुछ्दै थिई ।हापेन्ट र गन्जी लगाउने केटो पनि बिहानको बरन्डाको
घाममा उभिएको रहेछ ।....’
( कथाकारको
आँखा )
कथाकार विष्ट अत्तालिँदैनन् कथा भन्न।
‘ ... अँगालो
हालेर बसेका केटा केटीहरू गोलाइ गोलाइमा भेटिन्छन् ’ –
भनेनन् उनले । वृतान्त भने बरू सट्टामा ‘ गोलाइ गोलाइमा अलिकति छलिएर
बसेका भेटिन्छन् एकाअर्कालाई अँगालो हालेर भर्खरका केटाकेटीहरू ’ – यसरी । कथाकार विष्टको भाषिक
शीप यसरी प्रभावी रूपमा नै देखा पर्दछ र पाठकलाई भाषाले नै बढी लोभ्याउने छन्
भन्ने मलाई लागेको छ ।
लेखकहरू सचेत छन् अचेल । जे पायो त्यै लेख्दैनन् । उहिले नै .. ...... को धारादेखि माथि उक्ल्यो अबको लेखन ।
कथाकार विष्ट चाहिने जत्ति मात्र राख्छन् कथामा । उनी कथाले मागेको वस्तुलाई
नअत्तालिकन सोही स्थानमा राख्छन् ।
कस्सरी लेख्छन् एस्ता जुलुम कथाहरू ? – भन्ने मनमा लागेर मज्जा
लागेको छ । हालचालमा हामीले नेपालका
कथाकार कुमार नगरकोटी -लाई पढ्दैछौ, मज्जा पनि लाग्दैछ । धरावासी - को झोला पढ्यौं ।
यताबाट कथाकार प्रदीप गुरूङ, उदय थुलुङ, प्रवीण राई जुमेली , प्रकाश हाङखिम,
समशेर अली - लाई चर्चा गरिरहेका छौँ ।
तथापि अहिले हामीसित जुनजस्तै घाम छ । जसलाई पाठकले जुनै रूपमा भए
पनि पढ्नु नै पर्ने छ , चाहे त्यो भाषाको निम्ति होस् , चाहे विषय उठानको निम्ति
।- भन्दा अत्युक्ति हुँदैन / हुने छैन म किटान गरेर भन्न सक्छु । यहाँ कथाकार सञ्जय
विष्टको कथासङ्ग्रह जुनजस्तै घाम माथि पाठकीय टिप्पणी मात्र गरिएको हो , पछि समालोचकहरू - ले मूल्याङ्कन गर्ने नै छन्
– विश्वस्त छु । उपमा प्रकाशनले यो किताप प्रकाशित गरिदिएर पाठक र
नेपाली साहित्यलाई ठूलो गुन लगाएका छन् र राम्रो कथाको अभावलाई पनि टार्दिएका छन्
।
.......................................
Comments
Post a Comment