आकासमा ड्रयागन। (कविता)


कविता
आकासमा ड्र्यागन।

#निरज थापा
सिलगढी।



उडिरहेछ उडिरहेछ उडिरहेछ
आकासमा
कालो बादलजस्तो घामै निलेर
ड्रयागन।

लामा लामा दाह्रा
जिउभरि तिखो तिखो सुइरो
काँडै काँडाको आँखा
आगै आगो छाद्ने मुख
डल्लै ब्राह्मन्ड बेर्ने जिब्रो।

त्यो
किटिरहेछ  किटिरहेछ किटिरहेछ
कटटटट कटक कटक
दाह्रा,
निलिरहेछ खप्लक खप्लक खप्लक
हावा, पानी,
छादिरहेछ छादिरहेछ छादिरहेछ
पृथिवीको छातीभरि
आगै आगो,
घर घरमा छिराइरहेछ धुरी धरीबाट
धुवाँ धुवाँ धुवाँ,
रालै राल,
उनिरहेछ उनिरहेछ उनिरहेछ
टाउकोको माला।

हावामा पिङ खेल्दै
खसिरहेछ खसिरहेछ खसिरहेछ
त्यो
गिदी गिदीमा।

टोकिरहेछ टोकिरहेछ टोकिरहेछ
देश देशको सीमा तार।

नमस्ते गरिरहेछ तैनाथ सुरक्षाकर्मी
हात हातमा पञ्जा लगाएर।

*

फुत्त फुत्त फुत्त हाम फाल्दैछन्
वैज्ञानिकहरूका इच्छा/आकांक्षा
ग्रेट वालमा उभेर
बैकालमा।
आत्महत्या गर्दैछन्
डाक्टरहरूका, मन्त्रीहरूका, उद्योगपतिहरूका,
प्याथोलजिस्टहरूका निद्राले
फ्याक्टरीका एसी च्याम्बरमा,
ल्याब्रटरीमा,
हस्पिटलमा,
सदनमा।

गणित लेखिरहेछन् विश्वका पुँजीपतिहरू
बालुवाले छोपेर
आफैलाई,
क्याक्टस क्याक्टस भएका छन्
सबै सबै
बालुवाका थाक थाकमा।

लुरुक्क परेका छन्
देश देशका नामी नामी घमन्डी घमन्डी अस्त्रहरू।
दिइरहेछ दिइरहेछ दिइरहेछ
सलामी सलामी सलामी
लडाकु विमानहरू
अणु- परमाणुको शवयात्रामा उभेर।
होम क्वारान्टाइनमा छन्
बोफोर्सहरू
मुख मुखमा मास्क लगाएर।
लुकाइरहेछ लुकाइरहेछ लुकाइरहेछ
आफैलाई
सप्पैभन्दा तेज छु भन्ने एके४७
अनाम गुफाभित्र।

पसिरहेछन् पसिरहेछन् पसिरहेछन् अझ भित्र अझ भित्र
अझै भित्र
सरुङमा
ज्ञानहरू।
होली पुस्तकहरू।
चट्टानका ढाल बनाएर
सासै नफेरी सेल्फ आइशोलेसनमा छन्
हात हेरेर भविश्यवाणी गर्ने पण्डितहरू।

परेड खेल्दैछन् हावाजहाजहरू
हवाइअड्डामा,
पब्जी खेलिरहेछन्
पानीजाहाजहरू,
ट्रेनहरू
रेसलिङ हेरिरहेछन्
झुल्दै झुल्दै झुल्दै
प्लेटफार्ममा।

*

आँखाहरू टेँडा टेँडा टेँडा भएका छन्
गाउँहरूका।

चरक चरक चर्किरहेछ
मानवता।

*

परिवर्तित भइरहेछ भइरहेछ भइरहेछ
मुर्दाघरमा
विश्वका नामी नामी दामी दामी हस्पिटलहरू।

बगिरहेछ लासैलास
मिसिसिपीमा।

लत्रक्क लत्रिएको छ
मान्छेको
आशा भरोषा।

*

कत्ति ठुलो भुकम्प?
त्यो ड्र्यागनको हाछिऊँमा!
सहरलाई नै श्मसान बनाउने
कत्रो ठुलो खोकी?
मान्छेलाई नै पर पर पार्ने
कस्तो दुर्घन्दित् सास??

########








facebook

Comments

  1. यद्यपि कविताले विकासको अत्याधुनिकताको मृगमरीचिकालाई विविध शव्द र भावनाहरुका प्रतीयमान बिम्बनहरुको कलात्मक संयोजनमा शिल्पगत विशिष्टताको प्रयोगले उसको हैसियतको आइना देखाउँनुमा अपार सफल रहेको छ। साथै....
    - अत्याधुनिक विकास, समृद्धि र सभ्यताको विद्रुपता,स्वाङ्ग, छद्मभेषी,ढोंगी, अनाचारी एवं अमानुषिकता र विकृतिहरुलाई एउटा जाबो कोरोना भाईरस संक्रमणको वैश्विक महामारीको डरले महाशक्तिहरुलाई पनि अस्त्र शस्त्रको अम्वार हुँदा हुँदै पनि घुँडा टेकाई दिएको सम्प्रतिक परिदृश्य र विवशता र भयवाहताहरुलाई पनि अन्यान्य अनुभूतिहरू र विधताले भरिएका अनुकरणात्मक ध्वन्यात्मक शाब्दिक प्रयोगहरुले पनि अभिव्यक्तिहरुका सारतत्वहरुलाई परिदर्शन गराउनु सक्षम भएको छ...
    - .... तर वर्तमानमा अमेरिकी साम्राज्यवादी द्वारा संचालित र निर्धारित शीतयुद्धको विगत शताब्दीका छैठौं दसकदेखि निवर्तमान विकट वैश्विक परिस्थितिहरुमा पनि विकृत सूचनाप्रवाहको सूचना साम्राज्यवादको भ्रमजालबाट कविको वैचारिक चेतना उन्मुक्त हुनु नसक्नु विडम्बनापूर्ण नै रहेको देखिन्छ।
    चीन विरोधी अमेरिकी रणनीतिक सूचना साम्राज्यवादको प्रदुषित सूचनाहरुको गोटी नबनेर त्यसबाट जोगिनु भनेको स्वतन्त्र र गणतान्त्रिक मूल्यबोध हुने वास्तविकतालाई हामीले स्वीकार गर्नु नै पर्दछ।

    ReplyDelete
  2. नमस्कार सर जनार्दन थापा। तपाईंको प्रतिक्रियालाई आदरपूर्वक हेरें। राम्रो लाग्यो। कविता भनेकै कुनै वस्तुतत्वमाथि कलात्मक अभिव्यक्ति दिइने विधा हो।माध्यम हो। यो जुन वैश्विक महामारी कोरोना छ। यो घोषित , अघोषित कुटनीति वा लापरवाही त हो नै चिनको। अघावै जानकारी नगराइनु। who मार्फत पनि यसलाई वैश्विक माहामारीको रूपमा नल्याइनु ठुलै चाल हो। नभए पनि लापरवाही पनि छिनले गरेकै जसको कष्ट सारा दुनियाँले भोगिरहेको छ। अमेरिकाले नै त्यहाँ अन्वेषण गर्ने प्रयोगशाला बनाउनमा अरब अरब रूपियाँ खर्च गर्नुले अमेरिकी साम्राज्यवादी नीतिलाई स्पष्ट पारेकै छ। अरू थुप्रै वैश्विक घटनाले यसलाओ पष्टि गरेकै छ।
    तर वर्तमान समय जुन कोरोनासित जुझिरहेछ र विश्वमा आफूलाई शक्तिशाली हुँ भन्ने देश पनि यसको अघि घोंडा ठेकेकै छ।
    यही विषयलाई कवितामा लेखिएको हो।
    सूचना साम्राज्यवादी नीति भनेको शक्ति सम्पन्न देशका आ आफ्नै किसिमका छन्। कनै शक्तिबाटै निर्देशित र संचालित छ नै। यसमा कुनै शंका छैन।

    कविता त्यतिकै लेखिने कुरा पनि रहेन अब। कविमा पनि उत्तरदायित्व छ कि कतिसम्म सत्यको नजिक रहेर लेख्ने।
    सत्य भनेको के?
    तपाईले बुझ्नु भएको?
    मैले बुझेको?
    तपाईलाई कुनै पुस्तकले जानकारी गराएको?
    वा पढेर लिइएको?
    साधनाले निर्क्यौल गर्नुभएको?

    कुन सही??

    कविताको धर्मै हो कुनै पनि विषयतत्वमाथि आकर्षणीय, तेजिलो, पौष्टिक, खोजवर्द्धन अभिव्यक्ति दिनु।

    त्यही कविता लेखेको हुँ।
    र यो कविता लेख्दा भइ पठाएको होइन।

    तपाईँलाई धेरै धेरै धन्यवाद सर।
    अरू आलोचना आऊन्। आशा राख्छु।

    ReplyDelete
    Replies
    1. सुन्दर र स्पष्टतासंग लेखिएको भाईको लाजवाफको कुनै विवादित जवाफ होइन यो। तर पनि भाईले COVID19 सन्दर्भमा यदि निरपेक्षताको प्रश्नलाई महत्व दिएको हो भने पनि अमेरिकी साम्राज्यवादी र त्यसका भरतीय हिमायतीहरुले लगाएका आरोपहरुबारे कुटनैतिक प्रयोजनीयताको आंकलन सम्म पनि अबका प्रतिभाशाली र दायित्वशील सर्जकहरुले गर्नु पर्ने हुन्छ। अमेरिकी साम्राज्यवादी चलखेलका राजनीतिक गतिविधिहरुलाई अध्ययन गर्ने हो भने सर्वविदित ओपेन सेक्रेट नै छ कि अमेरिका स्वयं आफैले सृजन गरी बनाएको तालेबानलाई खोज्दै अफगानिस्तानमा पस्नु, बस्नु र फस्नु परेको थियो र खतरनाक हतियार छ भन्दै र खोज्दै इराकमा कुनै समय आफ्नै सहयोगी सद्दामलाई खुँखार तानशाहको प्रचार गरेर जानु र सत्ताबाट अपदस्थ गराउनु र झुण्ड्याएर मृत्युदण्ड दिनु लगाइयो। यस्तै षडयन्त्रहरु लगायतका सम्पूर्ण मध्य प्राच्य खाडिका देशहरूमा लगाइएका आगोहरुले सीरियालाई पनि ध्वस्त बनाईदिएको छ।
      - ठीक यस्तै इतिहास दोहोराएर भारतको विराट बाजार कब्जाको निम्ति कोरोना भाईरस जैविक हथियारको रुपमा चीनको लैबमा तैयार भएको वा चीनले ढिलो खबर दिएको आदि इत्यादि आरोपहरु छन् भनेर चीन विरोधी हौवा तैयार गरिरहेको त छैन भनेर भन्नु सकिन्दैन।
      - ट्रम्पको कोरोना सम्बन्धित कमेटीका शीर्ष नेतृत्व डां. फाउसी समेतले अहिले आएर भन्नु कर लाग्यो कि यो भाइरस मानव निर्मित होइन। अब रह्यो ढिलो खबरको तर्क। तर चीन कोरोना भाईरस संक्रमणको कारणले पीडित हुँदा पापको फल हो भन्ने संज्ञा दिँदै खुच्चिङ मनाइ रहेका स्थिति थियो भन्ने सैकडौं समाचार र भिडियोहरू छन् यसका प्रमाणका निम्ति। तर अमरीका र यूरोपमा फैलिएको स्थिति पछि पनि सम्बन्धित राजनीतिक नेतृत्वहरुले सचेत गराउँदा पनि केन्द्र सरकारले अट्टेरी गरेका धेरै आरोपहरु पनि छन्।साथै भारतमा भने सरकारले कोरोना भाईरसको परवाह नगरेर मध्यप्रदेशको सरकार झार्ने र आफ्नो सरकार बनाउने खेलमा समय खेर फाल्यो भन्ने आरोपहरु पनि लगाइ रहेका छन्। यस्ता मन्तव्यहरु माझमा एउटा नागरिकको हिसाबले प्रभावित हुने तथ्यलाई अन्यथा ठान्नु उचित हुँदैन।
      - यद्यपि कविताले अमेरिकी साम्राज्यवादी विचारहरूको पृषठपोषकता गरेकेा छैनन् वरञ्च समस्त युद्धका व्यापारी रक्त पिपासुहरुका ऐतिहासिक हैसियतलाई कोरोना भाईरस माध्यम निर्धारित गरिदिएर बौद्धिक विरोध गर्दै रक्तपातपूर्ण युद्ध विरोधी संघर्षमा लामबद्ध भएको तथ्यनै स्वयंसिद्ध छ यो सम्पूर्ण कविताका सुन्दर र सान्दर्भिक अभिव्यक्तिहरुमा !
      - तसर्थ तत्कालीन परिस्थितिमा सबैका आ-आफ्नै मन्तव्यहरु हुन्छन् भन्ने मान्यता राख्नु पर्दछ भन्ने तत्व र तथ्यलाई भाईको कवित्वको विषयवस्तुले स्पष्ट पारेकै छ। तर सम्बन्धित मत-विमतलाई किन र कसरी भन्ने वैचारिक विमर्शमा पनि त्यसरी नै स्थान र समय दिनु पर्ने हुन्छ कि जसरी भाईले कवितामा समकालीन द्वन्द्व लाई कलात्मक सीपद्वारा उठाएका छौं। र पनि वैश्विक महामारीमा पीडित देश भएर अन्य पीडित देशलाई निन्दाको आक्रमण नगरेर मानवीय सहानुभूति र सहयोग गरिनु पर्दछ भन्ने मान्यतालाई समर्थन र सम्प्रसारण मात्र हो।
      - ड्रैगन भन्दा कोरोना भाईरस संक्रमणको वैश्विक संकटहरुको दुर्गन्धित हवा र सासहरु नै धेरै घातकहरु हुन् र छन् भन्ने भनाईमा बिम्बित र प्रतीयमान तत्त्व र आधारहरूमा ध्यानाकर्षण गर्नु चाहेको मात्र हो।
      - यसमा विज्ञ समालोचक मित्रहरुले आ-आफ्ना दृष्टिकोणका अभिव्यक्तिहरुमा कन्जुस्याइँ गरेको देख्दा ठीक लागेको छैन। आलोचनात्मक दृष्टिकोणलाई मान प्रतिष्ठाको विषयवस्तु बनाउनु हुँदैन। आलोचना जरुरी छ।

      Delete
    2. आलोचना जरूरी छ। अझै आलोचना होओन् यस बारे। मेरो पपि इच्छा यही छ। कविताले सङ्केत गर्ने र गरेका साङ्केतित अर्थ अनेक हुन्छन्। कुनै न कुनै विषयमा कविता लेखिनेनै छन्। यो चिनविरोधी विचारपोष्ठिक भए पनि सङ्केत गरिएका कुरा अनेक छन्। विश्वमा फैलिएको माहामारीले निम्त्याएका विद्रुप स्थितिलाई लेखेको मात्र हुँ। यति नै सही होइन नै। मान्छु नै म। लेखिने नै छ।

      तपाईंले भनेजस्तै आलोचना अझ गरिऊन् । आशा गरेकै छु। तपाईंबाट अझ धेर।

      Delete

Post a Comment

माटो

माटो (कविता)

कविता_ तेस्रो आँखा