कथा- बाटो

बाटो


अब बाटो अर्कै । अध्यन र अध्याय अर्कै जीवनको । हामी दुवैको लक्ष्य र आधार एउटै तर । भेटैँला पछि कुनै सिद्धान्त र मर्यादाको मैदानमा । दोबाटोमा । मोडमा ।

यसरी गएथ्यो रमेश तीन वर्षअघि ।

बाघडोगरा हवाईअड्डाले छुट्याएथ्यो हामीलाई ।

गाउँलेले भएभरको सहयोग गरे हामीलाई । गाई बेचे । हल गोरू बेचे । अदुवा कुच्चोको पैसा हामीलाई दिए । कोओपरेटिभ ब्याङ्कबाट मोर्गेजको लोन काडे बाबाले । आमाले तिलहरी , सिरबन्दी, झुम्के बुलाकी , बाघमुखे चुरा बन्दक राखिन् साहुकहाँ । रमेशको बाबाले पनि त्यसै गरे । गाभिना गाई बिक्री गरे । दशैंलाई भनी राखेको सुँगुर बिक्री गरे । छोरोको बिहेलाई भनी राखेको खसी पनि बिक्री गरे । उनीहरूको आँखामा घरकोभन्दा बढी गाउँको भविश्य थियो । चिन्ता थियो ।

पीएमजीएसवाईको इन्कम्प्लिट बाटो भएर राष्ट्रपथ झरेका थियौँ हामी । उल्लासमा झन्नै जुत्ताका नोक भत्काएका थियौँ, ढुङ्गामा ठोक्काएर ।
......

तीन वर्षपछि फर्केर गाउँमा पाइला टेकेको छु । मेरो बुटले पत्करहरू उडे गाउँभरि । सुकिला बाटा, दुवै छेवमा लहरै उभेका छन् बगेनाका रूखहरू । यात्री बिसौनीमा आपुगेको छु । पानीका ठुल्ठुला दुइटा टेङ्की छन् । धारा छन् । धुप्पी र उत्तीसका हरिया हरिया रूखहरूबीच सुन्दर कटेजहरू बनेछन्। घरहरू देख्दैछु । राता राता नारायणफूल र घण्टीफूल फुलेका छन् , म आश्चर्यचकित् छु बिसौनीमा बसेर ।शीतलतासितै चि..सो धाराको पानी घुटुक्क पिएको छु, स्वच्छ । मलाई स्वर्गमा छु भन्ने भान परिरहेको छ यसबेला।
पाठशाला बनेछन् । नानीहरू कखरा सिकेर घर फर्किँदैछन् । खेतभरि लहलह धानका बालाहरू झुलिरहेको देख्दैछु । पोष्टरहरू टालिन, झण्डाहरू ठाडिन छाडेछन् । विज्ञापनका नचाहिँदा होर्डिङहरू छैनन् गाउँमा ।
घरका अघिल्तिर ठूल्ठूला कुडेदानहरू छन् सबैका । बर-पिपल निक्कै सुग्घर बनेछन् । ढुङ्गाको मूर्तिमा दूधहरू चढाउन छाडेछन् ।

सुनेँ – ईको टुरिजम सुरू गरेको छरे । पारी भित्तमा अवश्थित देवीथान सुकोमल बनेछन् । छेवैमा मरियम र बुद्धका प्रतिमाहरू उभ्याएछन् । पाँचसयवटा सिँडी बनेछन् । दुवैपट्टि रेलिङ र सेतो चुना धसेर, ठाउँ ठाउँमा रातो गमलामा फूलहरू राखेर लोभलाग्दा पारेछन्। अग्ला अग्ला ध्वजाहरू रङगीबिरङ्गी उभ्याइएका छन् । इन्भाइरमेन्टल डाइभरसिटी कन्जरभेसनका एन जी ओ बनेछन् । सङ्गीत , नृत्य , आर्ट र अभिनय सिक्दा रहेछन् नानीहरू कम्युनीटि हलमा । प्रत्येक आइतबार कविता आवृत्ति र जनचेतना कार्यक्रम पनि हुँदोरहेछ खेलमैदानमा ।

मलाई मेरै जुत्ताले गाउँ-घर मैला हुँदैछ; लाग्दैथ्यो ।
खेतालाबाट फर्किएर धारामा काँटाहरू सफा गर्दै छ्मेकी बीरबलले मलाई सुनायो – मान्छे बन्नुभन्दा मान्छे हुनु आवश्यक छ ; भन्छ रे ऊ ।
कसले गरे यी सबै ‍??
प्रश्न जटिल थियो मनमा ।

जवाबमा थाहा पाएँ – एकै वर्षपछि फर्किएछन् रमेश अमेरिकाबाट ।
तिमारू बिदेशी ! - भन्थ्यो रे उसलाई ।
हाम्रो मेहनतले नै उनीहरू शक्तिशाली बन्दा रहेछन् । त्यै बल र शक्ति हामीले आफ्नै निम्ति खर्चिए हामी पनि उनीहरूजस्तै शक्तिसम्पन्न बन्न सक्छौँ । - भन्छ रे ऊ आजकल ।

............................................

मेरो आँखाभरि मेरो गाउँले अतित , कुवैतमा तीन साल बिताएका ती कठिन परिश्रमका दिनहरू नाच्नथाले, हिमपर्वतबाट सूर्यको प्रकोपले पग्लिँदै झरेका हिमखण्डहरूजस्तै झर्न थाले सम्झनाहरू, पीडाहरू, आस्थाहरू ।
·          

आइया...
जोडले चिच्याएछु। आफै तर्सेँ पनि।

यसरी दिउँसै सपना देखे कसरी विकास हुन्छ गाउँको ...???

आमा कराउनु हुँदैथ्यो ।
म चुपचाप ओछ्यानबाट उठेँ ।

बाहिर चारवटा लागेजस्तो टन्टलापुर घाम थियो ।


§   

Comments

  1. एक पल त कथाले व्याख्या गरेको त्यो स्वपनीय गाउँमा नै घुमिरहेको आनन्द अनुभव गरे।
    अति नै महत्वपूर्ण अर्थ समेटेको छ हजुरको रचनाले।।
    झन हामी जस्तो गाउँमा केही गर्न सकिएन भन्दै परदेशिएकालाई त हुरूक्कै बनाउने अनि
    अलि अलि भए नि जाँगर लगाइन्छ आफ्नो विकासको लागि,गाउँको विकासको लागि।

    ReplyDelete

Post a Comment

माटो

माटो (कविता)

कविता_ तेस्रो आँखा