तपाईँका आँखा


तपाईँका आँखा
..........................
तपाईँ मेरो आँखा मनपराउनु हुन्छ।

मन पराउनु हुन्छ?
तेसो भा तपाईँ भ्रममा हुनुहुन्छ
आँखै मन पराउने त
तपाईँका नि आँखा छन्

तपाईँ मेरो अनुहार मन पराउनु हुन्छ?
मेरो अनुहार हेर्ने पनि तपाईँका आँखै छन्
के तपाईँ मेरो शरीर मन पराउनु हुन्छ?
त्यो शरीर हेर्ने पनि तपाईँका आँखा छन्
त्यो शरीर जो सधैँ मेरो हुँदैन
तपाईँ त्यसलाई माया गर्नुहुन्छ?
तपाईँ मसितै मेरो घर मन पराउनुहुन्छ
रेडिमेट
तपाईँ मसितै मेरा गाडीहरु मन पराउनुहुन्छ
कुकुरहरु मन पराउनु हुन्छ
जसले तपाईँको वरिपरि पुच्छर हल्लाउँदै घुम्छ
तपाईँ मेरा बघैँचालाई प्रेम गर्नुहुन्छ
बघैँचामा फुलेका गुलाबहरु चुम्नुहुन्छ
बसेका शितहरुमा हात डुलाउनु हुन्छ
जुन बघैँचा मेरा दश मालीहरुका स्यारले बनेका छन्

तपाईँ हावाघरमा पोज दिएर बस्नुहुन्छ
20 मेगापिक्सेल सेल्फी एक्सपर्टले
ओँठ चुच्चो पारेर फोटो खिच्नुहुन्छ
तपाईँ मेरो केश मन पराउनुहुन्छ
घरि ठाडो पारिदिनुहुन्छ
घरि छड्के घरि तेर्सो
तपाईँ मेरा हात खुट्टा
जिउ-डाल, रङ मन पराउनुहुन्छ

तपाईँलाई त्यो आँखाले कति भ्रमित गरेको छ भने
तपाईँले मेरो सबथोक मन पराउनुहुन्छ
म पस्ने रेस्टुरेन्ट मन पराउनु हुन्छ
म पस्ने पार्लर मन पराउनु हुन्छ
मैले चुस्ने चुरोट पसल पनि मन पराउनु हुन्छ
पसलका दाजु मिठ्टो बोलेको लाग्छ तपाईँलाई
तर तपाईँले वास्तवमै आफै के मन पराउनुहुन्छ मबाहेक
सोच्नु भा छ?

के तपाईँले फूल स्यार्ने हातहरु चुम्नु भा छ कहिले?
जसका हातबाट बगेका रगतले ती गुलाबमा रङ चढेका छन्
पेटीमा भोकै लडेका दश भिखारी यहाँका माली हुन्
तिनीहरुका आँशुहरु तपाईँले स्पर्श दिनु भएका शितहरु हुन्
सुन्दर मेरा आँखाभित्र छचल्किएको समुद्रलाई देख्नु भा छ?
मेरा कुकुरलाई सँगै सुताउनुहुन्छ
सँगसँगै लिएर हिँड्नुहुन्छ
कुकुरका खाना तयार पार्ने, कुकुरको फोहोर सोर्ने मनहरु
भेट्नु भा छ?
तपाईँले सधैँ पिउनुहुने फलको रसमा
ती किसानको पसिना छ
तपाईँलाई कहिल्यै पसिनाको गन्ध आउँछ?
तपाईँले पिउने ग्रीन टि -मा तपाईँकै दाजु-दिदीको
हातको कस छ
चाल पाउनु भा छ?

तपाईँ आफ्ना मुलायम त्वचा सुम्सुमाउदै
घरेलु निलो दहमा
पानीको मजा लिरहनुहुन्छ
तपाईँले निलो दहमा आफ्नो अनुहार हेरेर मस्त हुनु भइरहेकै बेला
कुनै गाउँमा किसानले आफ्नो भाग्य खेतमा गाडेर
निघारका रेखाहरु गन्छ
कुनै खेतमा कुनै किसानले साहुको ऋण
काँधभरि बोकेर गैरी गाउँको भीरबाट  हामफाल्छ
काँप्राको बोटमा झुन्डिन्छ
भोटेखोलामा डुब्छ।
तपाईँलाई थाहा छ?
ती किसानको आँखा कत्ति राम्रो थियो होला
उसको नाक कत्ति मिलेको थियो होला
तपाईँले मेरा मुलायम हातभित्रका बक्ररेखाहरुका आवाज
कहिल्यै सुन्नु भा छैन
समयका सिस्नुले पोलेका अक्षांश- द्राधिमांशहरु
देख्नु भा छैन
तर तपाईँ मेरा हातहरु बेस्सरी मन पराउनु हुन्छ
तपाईँ पसिनाको गन्ध मन पराउनु हुँदैन
शरीरको गन्ध मन पराउनुहुन्छ

कुनै समय फुर्सदमा सोध्नुहोला
किसानको मन कस्तो हुन्छ?
हरिया राम्रा राम्रा साग- सब्जी फलाउने
लाला- बालाहरुका हातहरु कस्तो हुन्छ?
तिनीहरुका आँखाहरु कस्तो हुन्छ?
ती आँखाहरुले देख्ने सपनाको रङ कस्तो हुन्छ?
अभावहरुले रेटिने ती मन कसरी स्वच्छ हुन्छ?
सोध्नुहोला।
सप्पै खानेकुरो फलाएर ल्याइदिएर पनि
तपाईँको सफा लुगामा माटो लाग्छ भनेर
अलि टाडै भइदिने तिनीहरुको विचार कस्तो छ?
समय मिले अनि मेरो मनलाई सोध्नुहोला
' तपाईँका आँखा' कस्तो छ भनेर।
......................................
निरज थापा
सिलगढी, २५ अगष्ट २०१७। शुक्रबार।

Comments

माटो

माटो (कविता)

कविता_ तेस्रो आँखा