केही कुकुरहरू रूँदै फर्किए।


कविता
केही कुकुरहरू रूँदै फर्किए।


केही हापेनहरू छिल्लिँदै गए
पछिपछि गए केही कट्मेरा ड्रगहरू
केही पछि गए तीनपानीले रन्थनिएका खु्ट्टाहरू 
लर्बरिँदै लर्खरिँदै
हवाइजहाज उडाउने गाँजाहरू गए पछिपछि

केही कुकुरहरू रूँदै फर्किए

उप्रान्त सडक सुनसान हुने घटनामा थियो
भान्साघरहरूले कान ठाडो पार्दैथियो
अब भालेको डाक सुनिने छैनन्

एकप्रकारका भइरहेका थिए
ठूलो घरका दैलाहरू
हावाहरू स्तब्ध थिए
पानीहरू हाँगा हाँगामा बसेर रमिता हेर्दै थिए

जूनको प्रकाश झनै मधुरो भएथ्यो
घडी हेरेँ-
रातको बाह्र बजेको रहेछ।

चकमन्न थियो गाउँ
मात्र खहरे उर्लेको आवाज सुनिँदै थियो

भोलिपल्ट।
केही चुराहरू हल्ला गरिएका सुनिए 
धारामा
केही मुखहरू चुपचाप देखिए

हुनु अघि नै किन मेरो आँखा फुटेन
-
वाक्यहरू बेतमासले बिद्रोह बोल्दैथिए

केही सजग वाक्यहरू सुनिए-
              समय राम्रो छैन
              परिवेश राम्रो छैन
              कानुन राम्रो छैन
              देश राम्रो छैन।

मैले चुपचापहरूसित चुपचाप प्रश्न गरेँ
तेसो भा के राम्रो छ?
तपाईँको नियत?


………………………………………………………………………
निरज थापा
सिलगढी, भारत

Comments

माटो

माटो (कविता)

कविता_ तेस्रो आँखा