कविता
अलिखित इतिहासका हिरो
                      निरज थापा, लङ्कु



मर्चा बेच्थ्यो रे
मेरो बोउले।
त्यसैले नामै बन्यो
मर्चावाला कान्छा।

मर्चावाला कान्छा हिट नाम।

जब जब मेरो बोउ प्रत्येक गाउँको
कुना कुना, चेपचेप
जानुहुन्थ्यो रे
रौनकले गाउँ झुम्थ्यो रे
जसरी गर्मीपछि सितलमा शरीरहरू झुम्छन्
त्यसरी,
जसरी लगातारको वर्षापछि
स्वच्छ बन्छ आकास
सूर्यको मनोरम तापमा निस्कन्छन्
हरेकका ध्वासोँ गन्हाउने कोटहरू

रातमा टिमटिमाउछन् जसरी चन्द्र ताराहरू।

                कान्छाको मर्चा भेटेपछि त
कोदोले आफ्नो रवाफ देखाउँछ
गहुँहरू घोडा टेक्छन्
चिउरीहरू निगार बन्छन्
र गाउँलेले एउटा मिठो निद्रा सुत्छ
रैतीको ऋण भुलेर -
भन्थिन् रे गाउँकी साइँली- माइलीहरू।

भातीको जोशमा मकै फलाउँथे रे साइँलाहरू
बारीका कान्लाभरि भरि
फापर र कोदो फालाउँथे रे

रायो सागले बगान हुनु जानेको थ्यो रे
तोरीहरू मगमगाउँथ्यो रे गाउँभरि।

बोउले दिएको जानकारी र विधिमा
मख्ख थिन् रे सप्
अमिलो, चर्के- को नामै सुनिन्थेन रे
खोयाबिर्के पनि उत्तिकै स्वादिस्ट
स्वाट्ट पारेपछि कान्छा बाजेले,
सुरू हुन्थ्यो रे रामलीला
गाउँमा
जुवारी हुन्थ्यो रे
सप्पै नाच्थे रे कम्मर मर्काइ मर्काइ।
                ………………………….
          

आयो है आयो नयाँ आयो
            डल्ले, चेप्टे, लसुने आयो

मेरो बोउले फलाक्दै हिँडदा
आवाजले बाँदरहरू भाग्थ्यो रे
स्यालहरू लुप्रुक्क हुन्थ्यो रे

कट खाएर सुँगुरहरू सुतेको सुतेकै
इस्कुस फर्सी चोर्न आउने बाँदर खुत्रुक्कै
काला, कुँदो, सालाक लट्टिन्थ्यो रे
कुखुरा चोर्ने स्याल टन्न भएर पल्टिन्थ्यो रे।
     
मेरो बोउ भनेपछि मन्डल पनि लतक्क
जेठी कान्छीहरू भुतुक्क
हुन्थी रे।

गीत गाउनमा माहिर
जाँड बनाउनमा सिपालु
कम्मरमा सिरूपाले
टाउकोमा भदगाउले
ढाँडमा भोटेझोला बोकेर
लैबरीको भाकामा आँखाभरि सितल सपना बोकेर
डाँडा डाँडा सिकारी जगाइराखेर बाघ भालुलाई जङ्गल पसाएर
जङ्गलकालाई गरिखाऊ लाटोको संसारमा नआऊ
-भनेर पैतालाको धुलो निधारमा धसेर
माने घुमाएर, तीतेपाती चढाएर देउरालीमा
धोक्रेफूलको पातमा पानी पिएर
मस्त मस्त हुन्थे रे



गफीमा गफी
बोलीमा बोली
मखमली चोली नै थियो रे मेरो बोउको इमान।

सप्पै फिदा थियो रे बोउको विचारमा
मानवता जानेको बोउले
नाफा कमाउन जानेन रे
मुनाफाको कुरै छैन
दिनको हाजिराबाहेक केही लिएन रे।

गाउँले मज्जाले चिनेको मेरो बोउ
वास्तवमा देशका असल देशभक्त हुन्

हामीलाई देशभक्त बन्न सिकाए
गाउँलाई सिकाए।

देशका प्रत्येक गाउँमा मेरा बोऊहरू छन्
जो दिनरात देश बनाउनमा जुटछन्
र गाउँलेहरू मिठ्ठो गोदोको ढुङ्रो तानेर
सुन्तला स्याहार्छन्
हिरा, सुन, चाँदी फलाउँछन्
देशलाई स्वर्णिम बनाउँछन्
अनि देशले शान्त हुनु पाइबस्छ
देशले दॆश हुनु पाइबस्छ


मेरो बोउले मर्चा नबेचेको भए
बञ्जर बन्नेथ्यो रे जमीन
-    भन्छन् रानाकान्छा।

       देशलाई सधैँ पुज्ने मेरो बोउको
तर देशको इतिहासमा नामै छैन।

प्रत्येक इतिहासका पानामा खूनी घटना जोडिएको छ
तर असल देशभक्तको कथा छैन।


मेरो बोउ ती अलिखित इतिहासका हिरो हुन्।
................................................................

हाल- सिलगढी

Comments

माटो

माटो (कविता)

कविता_ तेस्रो आँखा