भारतमा नेपाली भाषा - साहित्यमा उच्च शिक्षा / Higher studies in Nepali language and literature in India

भारतमा नेपाली भाषा - साहित्यमा उच्च शिक्षा
Higher studies in Nepali language and literature
in India

निरज थापा
सिलगढी



भारतमा नेपाली भाषा-साहित्यको अध्ययन-अध्यापनको प्रक्रिया साह्रै पुरानो र साह्रो नयाँ होइन तथापि मातृ भाषा (Vernacular)-को रूपमा भने धेरै वर्ष पहिले नै पठन-पाठन सुरु भएको हो। जे. एटनले सन् 1820 तिर ग्रामर अफ द नेपालिज ल्याङ्गवेज लेखेर नेपाली भाषाको स्थानको दह्रिलो पक्ष स्थापित गरेका थिए तापनि भारतको संविधानको आठौँ अनुसूचीमा यो भाषाले 20 अगस्त, 1992 मा मात्र मान्यता प्राप्त गर्न सक्षम बन्यो। भारतको संविधानको आठौँ अनुसूचीमा मान्यता प्राप्त नेपाली भाषा पश्चिम बङ्गालको दोस्रो राज्य भाषा हुनुका साथै सिक्किम राज्यको प्रशासनिक भाषा पनि हो। वर्तमानमा यो भाषामा थुप्रै दैनिक पत्र-पत्रिका, साप्ताहिक, मासिक, सम-सामयिक पत्रिकाहरू पनि प्रकाशित भइरहेका छन्। तीबाहेक थुप्रै साहित्यिक जर्नलहरू पनि प्रकाशित भइरहेका छन्। यसरी भारतमा नेपाली साहित्यको पठन-पाठन दह्रिलो बन्दै गइरहेको छ।


नेपाली भाषामा बुनियादी तथा माध्यमिक तहको शिक्षाको प्रारम्भ
नेपाली भाषामा बुनियादी तथा प्राथमिक तहको शिक्षाको प्रारम्भ बीसौँ शताब्दीको सुरुमा नै हुन थालेको हो। त्यसताक भारतका नेपालीभाषी बहुल क्षेत्र दार्जिलिङ, सिक्किम, डुवर्स तथा उत्तर पूर्वाञ्चलमा नेपाली भाषाको पठन- पाठन सुरु हुन भएको हो। नेपाली भाषामा पठन-पाठन त्यससमयदेखि सुरु भएको भन्ने तथ्य स्पष्ट नभए तापनि माध्यमिक तहको अध्ययनमा मातृभाषा पठन (Vernacular study)-लाई सर्वप्रथम इलाहाबाद विश्वविद्यालय (Allahabad university) ले सन् 1909 को मई महिनामा स्वीकृति जनाएको घोषणा-पत्र जारी गरेको हो। यस घोषणा-पत्रबमोजिम क्षेत्रीय भाषाको रूपमा मानेर म्याट्रिकुलेसन, इन्टरमिडियट र स्नातक तहको अध्ययनमा एक विषयको रूपमा नेपाली भाषाको पठन-पाठन सन् 1911 देखि सुरु भयो।

सन् 1905 मा बङ्गाल विभाजन भएपछि सन् 1912 देखि पश्चिम बङ्गाल र बिहारका ख्रिष्टेली मिसनका पाठशालाहरूमा सर्वप्रथम पादरी गङ्गा प्रसाद प्रधानद्वारा लिखित नेपाली पहिलो पोस्तक भन्ने पुस्तक पढ़ाउन थालियो। त्यसपछि भने पारसमणि प्रधान जस्ता भाषाप्रेमीहरूले अन्य भाषासरह नेपाली भाषामा पनि अध्ययन गर्नु पाउनु पर्छ भनी सरकारसमक्ष पत्रचार गरे। फलत: कलकत्ता युनिभर्सिटी (Calcutta university)-ले सन् 1918 मा मेट्रिक तहमा नेपाली भाषालाई पठन-पाठनको निम्ति मान्यता दियो। यसरी नेपाली भाषालाई मातृभाषाको रूपमा विद्यालयहरूमा पठन-पाठन सुरु भएपछि पश्चिम बङ्गाल, सिक्किम र उत्तर पूर्वाञ्चलका विभिन्न विद्यालयहरूमा नेपाली भाषालाई प्रथम भाषाको रूपमा पढ़ाइनुका साथै नेपाली माध्यममै शिक्षा प्रदानको व्यवस्था पनि सुरु भयो।


वर्तमानमा पश्चिम बङ्गालको दार्जिलिङमा मात्र प्राथमिक, माध्यमिक अनि उच्चत्तर माध्यमिक तहका गरी लगभग दुई सयभन्दा अधिक, डुवर्स क्षेत्रमा बीसभन्दा अधिक तथा सिलगढ़ीमा लगभग दुई दर्जनभन्दा अधिक विद्यालयहरूमा नेपाली माध्यममा शिक्षा प्रदान गरिन्छ। आज दार्जिलिङ क्षेत्रमा मात्र छ सयभन्दा अधिक माध्यमिक, आईसीएससी र सीबीएससी बोर्डका विद्यालयहरुमा अनि सिक्किमका चार सयभन्दा अधिक  विद्यालयहरुमा नेपाली भाषालाई प्रथम अनि दोस्रो भाषाको रूपमा पठन-पाठन गरिन्छ।

नेपाली भाषा -साहित्यमा उच्च शिक्षाको प्रारम्भ
कलकत्ता विश्वविद्यालय र इलाहाबाद विश्वविद्यालयले सर्वप्रथम मेट्रिकुलेसनमा भर्नाकुलरको रूपमा नेपाली भाषालाई पठन-पाठनको स्वीकृति दिए तर स्नातक तहमा मेजर इन्डियन ल्याङ्ग्वेज (MIL) अन्तर्गत प्रथम भाषाको रूपमा तथा एक विषयको रूपमा सर्वप्रथम पटना विश्वविद्यालयले सन् 1935 तिर पठन-पाठन सुरु गरेको हो। त्यसै साल स्नातक तह (Graduate level) -को अध्ययनमा नेपाली भाषाले मान्यता पाएको तथ्य पाइन्छ। वनारस काँसी हिन्दू विश्वविद्यालले सन् 1930 मा मेट्रिक र आईए (Higher Secondary)मा नेपाली भाषाको पठन-पाठन सुरु गरिसकेको थियो। सन् 1938 मा यस विश्वविद्यालयले स्नातक तहको अध्ययनमा नेपाली भाषा-साहित्यको पठन-पाठनलाई स्वीकृति दिए तापनि सन् 1943 देखि मात्र पठन-पाठन सुरु हुन गयो। उसरी गुवाहटी विश्वविद्यालयको स्थापना सन् 1948 मा भएपछि त्यस अन्तर्गतका महाविद्यालयहरुमा पनि प्रथम भाषाको रूपमा एक विषय नेपाली पढEइन थालियो।
विभिन्न विश्वविद्यालयअन्तर्गतका महाविद्यालयहरुमा प्रथम भाषाको रूपमा नेपाली भाषाको पठन-पाठन सुरु भए तापनि स्नातक तहमा ऐच्छिक विषय(Elective subject)-को रूपमा भने सर्वप्रथम नेपाली भाषा साहित्यको अध्ययन प्रक्रिया सन् 1968 देखि दार्जिलिङ सरकारी महाविद्यालयमा सुरु भयो। नेपाली अनर्सको अध्ययन पनि यसै महाविद्यालयमा सन् 1969 देखि सुरु भयो। यसरी विभिन्न क्षेत्रहरुका महाविद्यालयहरु (कालिम्पोङ महाविद्यालय, खरसाङ महाविद्यालय, सिलगढ़ी महाविद्यालय, सन्त जोसेफ महाविद्यालय, साउथ फिल्ड महाविद्यालय, घुम-जोरबङ्गलो महाविद्यालय, मिरिक महाविद्यालय, बीरपाड़ा महाविद्यालय, क्लुनी वुमन्स महाविद्यालय, परिमल मित्र महाविद्यालय, सिक्किम सरकारी महाविद्यालय, नाम्ची सरकारी महाविद्यालय, गेजिङ महाविद्यालय, पाकिम प्लालेटाइन महाविद्यालय, रिनाक महाविद्यालय, कालिका तराई पद घोष महाविद्यालय, सोनादा डिग्री महाविद्यालय आदि)मा पनि स्नातक तहमा नेपाली भाषा साहित्यको पठन-पाठन ऐच्छिक विषय र अनर्सको रूपमा पढ़ाइन थालियो।
भारतमा नेपाली भाषा साहित्यमा उच्चत्तर शिक्षा आर्जनको निम्ति मुख्यत: चारवटा विश्वविद्यालयहरु छन्- उत्तर बङ्गाल विश्वविद्यालय, वनारस काँसी हिन्दू विश्वविद्यालय, सिक्किम केन्द्रीय विश्वविद्यालय र गुवाहटी विश्वविद्यालय।
सन् 1977 मा उत्तर बङ्गाल विश्वविद्यालयमा नेपाली विभागको स्थापना भएपछि त्यस विश्वविद्यालयबाट नेपाली भाषा-साहित्यमा स्नातकोत्तर तह (Post Graduate), एमफिल (M. Phil.) अनि पीएचडी (Ph. D.) सम्मको अध्ययन गर्न सकिन्छ। उसरी नै वनारस काँसी हिन्दू युनिभर्सिटीबाट पनि नेपाली भाषा साहित्यमा स्नातकोत्तर तह (Post Graduate) अनि पीएचडी (Ph. D.) सम्मको अध्ययन गर्न सकिन्छ भने अझ सन् 2007 मा सिक्किम केन्द्रीय विश्ववद्यालयको स्थापना भएपछि त्यहाँबाट पनि नेपाली भाषा साहित्यमा स्नातकोत्तर तह (Post Graduate), एमफिल (M. Phil.) अनि पीएचडी (Ph. D.) सम्मको अध्ययन गर्न सम्भव भएको छ। यसबाहेक गुवाहटी विश्वविद्यालयमा पनि यस तहको अध्ययनको सुविधा उपलब्ध छ।

Comments

Post a Comment

माटो

माटो (कविता)

कविता_ तेस्रो आँखा